भरतपुर- नेपाल प्रेस युनियनको केन्द्रीय महासचिवमा नकुल अर्यालले गृहजिल्ला चितवनबाट उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । प्रेस स्वतन्त्रता र पत्रकार हकहितका लागि भएका सबैजसो आन्दोलनमा अग्रमोर्चामा देखिने अर्याल श्रमजीवि पत्रकारको पक्षमा वकालत गर्ने पत्रकारका रुपमा स्थापित हुनुहुन्छ ।
देशभरको पत्रकारितालाई आकर्षण र मर्यादित बनाउन लागिपर्ने बताउनुभयो ।
उहाँले श्रमजीवि पत्रकारका समस्यालाई नजिकबाट नियालेकाले समाधान गर्न नेतृत्वमा दाबी गरेको बताउनुभयो । “चितवनबाट पत्रकारिता सुरु गरेको थिएँ, चितवनकै भूमीबाट महासचिवमा जित्ने प्रतिवद्धता गरेको छु”, उहाँले भन्नुभयो, “कम्तिमा ३ महिनामा रिपोर्ट कार्ड सार्वजनिक गर्नेछु, पत्रकारका पक्षमा सशक्त बन्ने गरी युनियनलाई अगाडी लैजानेछौँ ।” उहाँले महासचिव पदमा हचुवाका आधारमा दाबी नगरेको बताउनुभयो । “श्रमजीवि पत्रकारका पक्षमा संघर्ष र देशभरीका साथीहरुको सहयोगकै कारण महासचिव उम्मेदवार बनेको छु”, उहाँले भन्नुभयो, “सर्वसम्मति नभए उम्मेदवारी दर्ता गरेर अनुमोदित हुनेछु, सहमतिका नाममा व्याक हुन्न ।”
हेटौडामा यही साउन ६ र ७ गते हुने नवौँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । महासचिव पदका लागि युनियनमा ८ जनाले आकांक्षा देखाएका छन् । अर्याल स्थानीय तथा राष्ट्रियस्तरका पत्रिका, रेडियो, टेलिभिजनमा रिपोर्टरदेखि सम्पादक तहसम्मको जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ । उहाँ हाल नेपाल प्रेस अनलाइनको समाचार संयोजक हुनुहुन्छ ।
डेढ दशक पत्रकारितमा सक्रिय अर्याल वेथिती विरुद्ध शसक्त कलम चलाउने व्यक्तिका रुपमा चिनिनुहुन्छ । उहाँ आजकल राजनीतिक बीटमा पत्रकारिता गर्नुहुन्छ । नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य, प्रेस युनियन काठ्माण्डौको पूर्वअध्यक्षका रुपमा नेतृत्व सम्हालिसक्नुभएको छ । प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले नेतृत्वमा सक्रिय र श्रमजीवि पत्रकारको मर्म बुझ्ने व्यक्तिका रुपमा पत्रकार नकुल अर्याल स्थापित भैसकेको बताउनुभयो ।