काठमाडौँ । शुक्रबारदेखि नेपालको प्रवेश गरेको मनसुन देशभर पुगेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अब मनसून सक्रिय भई देशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले आगामी मनसून आवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आंकलन गरेको छ । हाल देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बङ्गालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको हो ।
‘यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना छ,’ विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘साना तथा मझौला नदीहरूमा जलप्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरूमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरूमा डुबानसमेत हुन सक्ने अत्यधिक सम्भावना रहेकाले मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायहरूलाई सतर्कता अपनाउन हुन अनुरोध गर्दछु ।’