×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अपराधपूर्ण चिन्तन राख्नेहरू नेपाली राजनीतिको घाँडो भए : माधव नेपाल

अपराधपूर्ण चिन्तन राख्नेहरू नेपाली राजनीतिको घाँडो भए : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अपराधपूर्ण चिन्तन राख्नेहरू नेपाली राजनीतिको घाँडो भएको बताएका छन् । बिहान काठमाडौँमा एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । 

विरोधीहरूलाई सिद्ध्याउनुपर्छ भनेर लागेकाहरू नै सत्ता गठबन्धन जसरी पनि भत्काउन लागि परेको उनको आरोप छ । ‘पूर्वाग्रहपूर्ण सर्त अघि सारेर गठबन्धन भत्काउन थालिएको छ,’ अध्यक्ष नेपालले भने, ‘सभामुखलाई सिद्ध्याउनुपर्छ, माधव नेपालसहित १४ जनालाई सिद्ध्याउनुपर्छ भन्ने अपराधपूर्ण चिन्तन राख्नेहरू कहाँबाट आए, नेपाली राजनीतिको घाँडो भए ।’

उनले एमसीसिमा रहेका आपत्तिजनक प्रावधानहरू सच्याउनुपर्ने आफूहरूको अडान रहेकोले यथास्थितिमा अनुमोदन गर्न नसकिने दोहोर्‍याए । ‘अमेरिकी धम्कीले थप आशंका जन्मायो,’ उनले भने, ‘अनुदानमा धम्की हुन सक्दैन र अनुदानको नाममा बन्दी बन्न सकिन्न ।’ असंलग्न परराष्ट्र नीति लिएको नेपाल कुनैपनि सैन्य संगठनमा सामेल हुन नसक्ने बताउँदै विशुद्ध आर्थिक सहायता स्वीकार गर्न कुनै आपत्ति नरहेको उनको भनाई छ ।

प्राध्यापकहरूको ज्ञानको सरकारले भरपुर उपयोग गर्न नसकेको उनले बताए । ‘प्राध्यापकहरूको ज्ञान सीपको राज्यले उपयोग गर्न सकेको छैन,’ अध्यक्ष नेपालले भने, ‘देश हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुस्, सत्यको खोजीमा लाग्नुस्, देशका कर्णधारहरुलाई सही ज्ञान दिनुस् ।’

प्रतिकृया दिनुहोस्