काठमाडौं- सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुले राखेका जिज्ञसाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले आफ्नो पार्टीले मन्त्रीहरुलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको बताए । उनले भने, ‘मैले धेरै पटक यसको जवाफ दिइसकेँ । यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ ।’
जेठ २२ मा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीबाट सरकारमा प्रतिनिधित्व गरिरहेका चार मन्त्रीलाई फिर्ता बोलाउने र नयाँलाई पठाउने निर्णय गरेको थियो । नयाँ मन्त्री बन्नेहरुकोे नाम प्रधानमन्त्रीको हातमा पुगिसकेको भए पनि उनीहरुको सपथ रोकिएको छ ।