उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका–१ की ८१ वर्षीया वृद्धा कालमाया राईले जीवनको उत्तरार्धमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन्। लामो समयदेखि राज्यका सेवा-सुविधाबाट वञ्चित उनले नागरिकता पाएसँगै अब सामाजिक सुरक्षा भत्ता पाउने भएकी छन्।
खोटाङमा जन्मेकी कालमायाको विवाह उदयपुरमा भए पनि आवश्यक ज्ञानको अभाव र आफन्तबाट सहयोग नपाउँदा उनले नागरिकता बनाउन सकेकी थिइनन्। १५ वर्षअघि श्रीमानको निधन भएपछि एक्लो बनेकी उनलाई नागरिकता बनाउन झनै समस्या परेको थियो।
नागरिकता नहुँदा उनी वृद्धभत्ता जस्ता आधारभूत सरकारी सुविधाबाट समेत वञ्चित थिइन्। उनको यो समस्यालाई मध्यनजर गर्दै चौदण्डीगढी–१ का वडाध्यक्ष लुङगराज राईले विशेष पहल गरेका थिए। वडाध्यक्षकै रोहबरमा जिल्ला प्रशासन कार्यालय, उदयपुरले उनलाई नागरिकता प्रदान गरेको हो।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले वडा प्रतिनिधिको रोहबरमा वृद्धा राईलाई नागरिकता दिलाइएको र अब उनको सामाजिक सुरक्षा भत्ताका लागि तत्कालै प्रक्रिया अगाडि बढाइएको बताए। साथै, उनको राष्ट्रिय परिचयपत्र नम्बरको पनि व्यवस्था मिलाइएको लुइँटेलले जानकारी दिए।