काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आएको बताएका छन्।
रौतहटको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनमा आफूले सोचेको भन्दा कम नतिजा आएको र नतिजाले शिक्षा दिएको बताए।
उनले आगामी दिनमा निर्वाचनको परिणामको मूल्याङ्कन गर्दै भएका कमीकमजोरी सुधार गरी अघि बढ्ने धारणा राखे। उनले अबको सरकार कसको बन्छ भनेर अहिले नै भन्न नसकिने भन्दै समयको माग अनुसार बन्न सक्ने बताए।
उनले जनताले आफूलाई इमानदारिता र निष्ठापूर्वक नै हेरेकाले जनताको विश्वासलाई पूरा गर्ने जिकिर गरे। अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका अजय कुमार गुप्ताले २६ हजार नौ सय २२ मतप्राप्त गरे।