काठमाडौं- सुदूरपश्चिम प्रदेशमै ठूलो सेती प्रादेशिक अस्पताल, धनगढीले नवौं तहका विशेषज्ञ चिकित्सकसहित विभिन्न तहका कर्मचारी पदपूर्ति गर्न थालेको प्रक्रिया नै विवादित बनेको छ ।
अस्पताल प्रशासनले प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना महामारीका बेला बनाएको करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन मापदण्ड २०७७ अनुसार थालेको पदपूर्ति प्रक्रिया विवादित बनेको हो ।
महामारीका बेलाको मापदण्ड अपनाएको, लिखित परीक्षा लिनुपर्नेमा अन्तर्वार्ता मात्र राखेको भन्दै उजुरी समेत परेको छ । अस्पताल प्रशासनले गोप्य राखेको उक्त उजुरीमा छनोट मापदण्डबारे पुनर्विचार गर्नुपर्ने, लिखित तथा मौखिक परीक्षा लिएर मात्र पदपूर्ति प्रक्रिया पुुनः थाल्नुुपर्ने माग गरिएको स्रोतको भनाइ छ ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले चिकित्सक तथा स्वास्थ्यकर्मी पदपूर्तिको प्रक्रियामा प्रश्न उठाउँदै मंगलबार उजुरी परेको पुष्टि गरे ‘लिखित र प्रयोगात्मक परीक्षा हुनुपर्ने जस्ता कुरा उठाउँदै हामीकहाँ उजुरी परेको छ’ उपाध्यायले अनलाइनखबरसँग भने, ‘सो सम्बन्धमा के गर्ने भनेर हामीले सामाजिक विकास मन्त्रालयलाई लेखी पठाएका छौं ।’