काठमाडौं - दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले चारदेशिय टी २० क्रिकेट सिरिज अन्तर्गत ओमानविरुद्धको खेलमा जित निकालेको छ ।
अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३५ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको ओमानले २४ रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर कश्यप प्रजापतीलाई ब्यक्तिगत ११ रनमा अभिनाश बोहराले बोल्ड गर्दै पेभेलियनको बाटो देखाए ।
त्यसका लगत्तै जतिन्दर सिंहलाई आरिफ शेखले ब्यक्तिगत १३ रनमा विकेटकिपर आशिफ शेखको हातबाट क्यान आउट गराउँदा ओमानको स्कोर २४ रन थियो ।
त्यसपछि आयान खानलाई कमलसिंह ऐरीले ब्यक्तिगत ११ रनमा आउट गरे । जसका कारण ओमानले ४२ रनमा तेस्रो विकेट गुमायो । ओमानको स्कोर ५८ रन हुँदा चौथो विकेट झर्यो । उसका सोयब खानलाई सन्दिप लामिछानेले आशिफ शेखको हातबाट नै क्याच आउट गराए । सन्दिपको यो टी २० अन्तराष्ट्रियमा ४८ औं विकेट थियो ।
त्यसपछि कप्तान जिसान मक्सुद र मोहम्मद नदिमले ओमानको पारिलाई सम्हालेका थिए । उनले पाँचौं विकेटका लागि ६१ रनको साझेदारी गरे ।
तर जिसान मक्सुद ३५ रनमा खेलिरहेका बेला अभिनाशको बलिङमा आरिफ शेखले क्याच मिस गरेका थिए । तर त्यसको लगत्तै अभिनाशले नै नेपाललाई पाँचौं सफलता दिलाए । उनले मोहम्मद नदिमलाई ३१ रनमा शरद भेषवाकरको हातबाट क्याचआउट गराए । त्यो बेला ओमानको स्कोर एक सय १९ रन थियो । तर अर्को बलमा नसिम खुसीलाई खाता खोल्न नदिँदै शरदको हातबाट क्याच आउट गराए । जसका कारण ओमानले एक सय २० रनमा ६ विकेट गुमायो ।
बलिङमा कमलसिंह ऐरीले चार ओभरमा २५ रन खर्चिएर एक विकेट लिए भने आरिफ शेखले एक ओभरमा दुई रन खर्चिदै एक विकेट लिए भने सन्दिपले तीन ओभरमा १७ रन दिएर एक विकेट लिए । नेपालका लागि कमलसिंह ऐरीलेस तीन विकेट लिए । उनले चार ओभरमा २६ रन खर्चिएर महत्वपुर्ण विकेट लिए । नेपालका लागि सागर ढकाल केहि महंगो सावित भए । उनले तीन ओभरमा ३६ रन खर्चिए ।
नेपालले १९ ओभर तीन बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालले २१ रन हुँदा पहिलो विकेट गुमाएको छ । नेपालका आशिफ शेख १४ रनमा आउट भए। नेपाली टिमका ओपनर आशिफले ११ बलमा तीन चौकाको मद्दतले १४ रन बनाए । उनी कलिमुल्लाहको बलमा सोयब खानको हातबाट क्याच आउट भए ।
त्यसको लगत्तै नेपालले दोस्रो विकेट गुमायो । नेपालका अर्का ओपनर प्रदिप ऐरी मात्र चार रनमा आउट भए । उनलाई कलिमुल्लाहले नसिम खुसीको हातबाट पेभेलियन फर्काए । उनले १४ बलमा चार रन बनाए । तीन ओभरसम्म विना विकेट २१ रनमा खेलिरहेको नेपालले एकै ओभरमा दुई विकेट खेर फाल्यो । चौथो ओभरको दोस्रो बलमा आशिफ आउट हुँदा छैटौं बलमा प्रदिप पेभेलियन फर्किए ।
त्यसपछि दिपेन्द्रसिंह ऐरी र पूर्व कप्तान ज्ञानेन्द्र मल्लले टिमको पारी सम्हाल्ने प्रयास गरेका थिए । उनीहरुले तेस्रो विकेटका लागि ४० रनको साझेदारी गरे । तर नेपालको स्कोर ६२ रन हुँदा ज्ञानेन्द्र मल्ल ब्यक्तिगत १३ रनमा आउट भए । उनले १६ बल खेलेका थिए ।
त्यसपछि क्रिजमा आएका आरिफ शेखपनि ब्यक्तिगत २५ रनमा आउट भए । उनले दिपेन्द्रसिंह ऐरीसँग मिलेर ४५ रनको साझेदारी गरेका थिए । तर खवार अलीको बलमा खुराम नवाजको हातबाट आउट हुँन अगाडी उनले २० बलमा तीन चौकाको मद्दतले २५ रन बनाए । उनी आउट हुँदा नेपालको स्कोर एक सय सात रन थियो ।
नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेले । टी २० आईमा करियरकै उच्च स्कोर बनाउने क्रममा उनले ५३ बलमा आठ चौका र एक छक्काको मद्दतले अविजित ७३ रन बनाए । २२ रनमा दुई विकेट गुमेको अवस्थामा क्रिजमा आएका दिपेन्द्रले जिम्मेवारीपुर्ण पारी खेल्दै अर्धशतक बनाए । उनको टी २० आइको करियरमा दोस्रो अर्धशतक बनाएका हुन ।
यसअघि उनले कीर्तिपुर मैदानमा भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा ६० रनको पारी खेलेका थिए । जुन उनको पहिलो अर्धशतक थियो । त्यसपछि उनले नेदरल्याण्ड्सविरुद्ध नै अर्को खेलमा अविजित ४८ रन बनाएका थिए । यसका साथै उनले अन्तराष्ट्रिय टी २० क्रिकेटमा पाँच सय रन पनि पुरा गरेका छन ।
उनले तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ४० रनको साझेदारी गरेका थिए भने जसमा उनले २३ रन बनाउँदा टी २० आईमा पाँच सय रन पुरा गरेका हुन । उनले २७ खेलमा पाँच सय रन पुरा गरेका हुन । यसका साथै टी २० मा पाँच सय रन पुरा गर्ने तेस्रो खेलाडी बनेका छन । उनी भन्दा अगाडी ज्ञानेन्द्र मल्ल र पारस खड्काले पाँच सय रन पुरा गरेका थिए । टी २० आईमा ज्ञानेन्द्र मल्लको उच्च स्कोर ६० रन रहेको छ ।
ऐरीले ४६ बलमा चौका प्रहार गर्दै अर्धशतक बनाए । नेपाललाई अन्तिम ओभरमा जित्नका लागि नौं रन चाहिएको थियो । जसमा ऐरीले दुई चौका प्रहार गर्दै टिमलाई जित दिलाए ।
बलिङमा कलिमुल्लाहले दुई विकेट लिए भने खवार अलीले एक विकेट लिए ।
अब प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेलमा शनिबार यूएईसँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार दिउसो पौने १२ बजे हुनेछ ।