ललितपुर - ललितपुरको दक्षिणी भेगमा अवस्थित महाँकाल गाउँपालिकामा बाढीले बगाउँदा एक सवइञ्जिनियरको मृत्यु भएको छ। महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङस्थित भर्याङखोल्सामा बुधबार साँझ आएको बाढीले बगाउँदा २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो।
महाँकाल गाउँपालिका–६ का वडाध्यक्ष विनोद चौलागाईंका अनुसार, मृतक दाहालको स्थायी ठेगाना महाँकाल-४ कालेश्वर हो र उनी हाल ललितपुर महानगरपालिका–२९ हरिसिद्धीमा बस्दै आएका थिए।
घटनाको विवरण दिँदै वडाध्यक्ष चौलागाईंले भने, “बुधबार साँझ करिब साढे ७ बजे खोल्सामा आएको बाढीले बगाउँदा उहाँको मृत्यु भएको हो। हामीले राति १० बजेतिर खोजी गर्ने क्रममा शव फेला पारेका हौँ।”
उनले बाढीका कारण त्यस क्षेत्रका सबै सडकहरू अवरुद्ध भएको र शव निकाल्नका लागि नेपाली सेनासँग हेलिकप्टर माग गरिएको जानकारी दिए। “यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएका छौं,” उनले भने।