×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

बेलुन उडाएर देशैभर एकसाथ सार्वजनिक भयो 'जनै हराएको मान्छे' को पोस्टर

बेलुन उडाएर देशैभर एकसाथ सार्वजनिक भयो 'जनै हराएको मान्छे' को पोस्टर

काठमाडौं - बहुप्रतिक्षित चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर एक फरक शैलीमा सार्वजनिक गरिएको छ। निर्माण टोलीले काठमाडौंसहित देशका आठ प्रमुख सहरबाट एकैसाथ पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रचारप्रसारलाई नयाँ ढंगले अगाडि बढाएको हो।

काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जमा दिउँसो साढे ३ बजे एकै समयमा बेलुन उडाएर पोस्टर अनावरण गरिएको थियो। चलचित्रका निर्माता विमल न्यौपानेका अनुसार, चलचित्रको प्रचारलाई देशव्यापी बनाउन र दर्शकमाझ उत्सुकता जगाउन यो तरिका अपनाइएको हो। "देशभर एकसाथ सिनेमाको पब्लिसिटी होस् र दर्शकमा सिनेमालाई लिएर उत्सुकता सिर्जना होस् भनेर हामीले यो फरक शैली अपनाएका हौँ," उनले भने।

निर्माण टिमले चलचित्रको कथावस्तु झल्काउने दुईवटा अर्थपूर्ण पोस्टर सार्वजनिक गरेको छ। राकेश दहालले डिजाइन गरेका यी पोस्टरले सम्बन्धको परिबन्ध र पात्रहरूको मनोवैज्ञानिक द्वन्द्वलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन्।

पोस्टरले के भन्छ?

एउटा पोस्टरमा विजय बराललाई केन्द्रमा राखेर एकातिर केकी अधिकारी र अर्कोतिर मिरुना मगरलाई देखाइएको छ। बेहुलीको भेषमा रहेकी मिरुना र केकीले समाएको धागोको बीचमा विजय छन्, जसले पारिवारिक परम्परा र व्यक्तिगत प्रेमबीचको द्वन्द्वमा फसेको पात्रको मनोदशालाई प्रष्ट पार्छ। यसले जातीय परम्परा कि मनले रोजेको प्रेम भन्ने दोधारलाई संकेत गर्छ।

अर्को पोस्टरमा अभिनेत्री केकी अधिकारीलाई विभिन्न रंगका धागाले बाँधिएको अवस्थामा प्रस्तुत गरिएको छ। यसले उनी सामाजिक परम्परा र भाइको क्रान्तिकारी निर्णयबीचको द्वन्द्वमा रहेको संकेत गर्छ। पोस्टरमा लेखिएको ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी’ भन्ने नाराले उनको चरित्रको दृढता र भाइप्रतिको सम्भावित समर्थनलाई दर्शाउँछ।

कलाकार र निर्माण टोली

हिमाल न्यौपानेले निर्देशन गरेको यस चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई जस्ता बलिया कलाकारहरूको अभिनय रहेको छ। ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत यस चलचित्रका एसोसियट निर्देशक हुन्।

पेपरक्लिपको ब्यानरमा बनेको चलचित्रलाई कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन्। भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत छ।

‘पूर्णबहादुरको सारंगी’ जस्तो ब्लकबस्टर चलचित्रपछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यो वर्षको पहिलो चलचित्र हो। चलचित्र आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउनेछ र यसको वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्म्सले लिएको छ।

प्रतिकृया दिनुहोस्