काठमाडौं- मोरङको लेटाङ नगरपालिका–७, भिरिङखामा बुधबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भ्यानका चालक मोरङकै पथरीशनिश्चरे नगरपालिकाका ३० वर्षीय मनोज दियाली र यात्री लेटाङ–३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबारै राति ९ बजेतिर मृत्यु भएको मोरङका ट्राफिक प्रमुख एवं प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिए । दुर्घटनामा लेटाङ–६ का ५५ वर्षीय रुद्र लम्साल गम्भीर घाइते भएका छन् । सोही अस्पतालमा उनको उपचार भइरहेको छ । भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको १–०२–००१ ज ३९५३ नम्बरको पिकअप दुर्घटनामा परेको हो । भ्यान सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।