×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीको खुलासा: विद्याले अध्यक्ष पदमा आँखा गाडेपछि रोक्नुपर्‍यो

ओलीको खुलासा: विद्याले अध्यक्ष पदमा आँखा गाडेपछि रोक्नुपर्‍यो

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियतामाथि पार्टीले किन रोक लगायो भन्नेबारे मुख खोलेका छन्। भण्डारीले पार्टी अध्यक्ष पदमै आँखा गाडेकाले केन्द्रीय कमिटीले यस्तो निर्णय लिन बाध्य भएको ओलीको प्रस्टोक्ति छ।

बालुवाटारमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलमा अध्यक्ष ओलीले भण्डारीको कदमबारे आफूहरूले कल्पनासमेत नगरेको बताए।

"देशकै अभिभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँगै पार्टी अध्यक्षको पदमा आँखा गाडेकै कारण केन्द्रीय कमिटीमार्फत पछिल्लो निर्णयमा पुग्नु परेको हो," ओलीले स्पष्ट पार्दै भने।

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारी देशकै अभिभावक र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतीकका रूपमा रहनुपर्नेमा जोड दिए। उनले भने, ‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अभिभावकका रूपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनुभएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौं।’

उनले थपे, ‘लामो समयको राजनीतिक संघर्षको उपलब्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रूपमा रहनुपर्ने व्यक्तिले एउटा सदस्यताको विषयमा गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ।’

अध्यक्ष ओलीले भण्डारीको सक्रियतालाई 'सानो हावाको झोक्का' को संज्ञा दिँदै यसको पछि नलाग्न नेताहरूलाई निर्देशन दिए। ‘सिंगो एमाले पार्टी र हामी नेताहरू ठूला–ठूला आँधीबेहरी र तुफानको सामना गरेर यहाँसम्म आइपुगेका हौं,’ उनले भने, ‘अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो। सामान्य रूपमा समाधान हुन्छ। तपाईंहरू यसमा अल्मलिनु पर्दैन।’

उनले अबको ध्यान २०८४ को चुनावमा बहुमत ल्याएर पहिलो शक्ति बन्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै नेताहरूलाई आ-आफ्नो भूगोलमा पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन दिए।

प्रतिकृया दिनुहोस्