×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनको बन्दै

सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनको बन्दै

काठमाडौं - सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार हुने भएको छ । अरनीको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो ।

सडक निर्माण भएको २५ वर्षपछि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको पहिलो चरण र भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको सडक खण्ड दोस्रो चरणमा सक्नेगरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ ।

कुल १५ दशमलव ५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८ दशमलव ४ किलोमिटर सडक खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ सक्नेगरी पाएको छ । यस खण्डको २०७९ मंसिर २७ गते ३ वर्षभित्र सक्ने ठेक्का सम्झौता भएको हो ।

दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडक खण्ड ७ दशमलव ५ किलोमिटर रहेको छ । यस खण्डको ठेक्का आशिष/कुमार श्रेष्ठ/बन्धन भगवती जेभीसँग ३ अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भइसकेको विभागले जनाएको छ । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयले सडकको बीचबाट दायाँबायाँ २५/२५ मिटरको मापदण्डनुसार राजमार्गअन्तर्गत पर्ने चार नगरलाई पत्राचार गरी लगत सङ्कलन कार्यमा सहयोग गर्न अपिलसमेत गरेको छ । सूर्यविनायक–धुलिखेल सडक खण्ड चार लेनमा विस्तार गर्ने योजनाअनुरुप मापदण्डभित्रका भवन तथा संरचना हटाउन लगत सङ्कलन कार्य थालिएको छ ।

विसं २०१७ सालमा राजमार्ग बन्दा सडक दायाँबायाँ २५/२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । सरकारले २०३१ सालमा सडक ऐन परिवर्तन गरी लोकमार्ग फराकिलो बनाउन चाहेमा क्षतिपूर्ति दिएर मात्रै अधिग्रहण गर्ने निर्णय गरेकोथियो । अब याे सडक खण्डमध्ये काभ्रेपलाञ्चोकको बनेपा नगरको साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म ४ दशमलव ६ किलोमिटर सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम हुने भएको छ ।

पुल निर्माणका लागि भने छुट्टै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) मा केही परिवर्तन हुँदा पुलहरु थप निर्माण गर्न आवश्यक पर्ने भएकाले १ अर्ब रुपैयाँ लागत लाग्ने आयोजनाको अनुमान छ ।

अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०/२० मिटरका तीन पुल, जगाति र महादेवखोला पेट्रोल पम्प नजिक निर्माण गरिने आयोजनाले जनाएको छ । प्रतिमिटर १५ लाख रुपैयाँ लागतकाे अनुमान गरिएको छ । यसको अनुमानित लागत ९० करोड रुपैयाँ छ । 

प्रतिकृया दिनुहोस्