काठमाडौं- बत्ती, फलफूल र विभिन्न फूलहरुको पर्वको रुपमा लिइने तिहारको आगमनसँगै राजधानीमा फूलको व्यापार ह्वात्तै बढेको छ । काज, कुकुर, गाई, गोरु, म्हः पूजा र भाईटीको लागि अति आवश्यक पर्ने फूल राजधानीका सडकका विक्रीवितरणको लागि राखिएका छन् । विशेषतः पँहेलो र रातो रंगका फूलहरुको माग बढ्दो देखिन्छ ।
यस वर्ष तिहारमा साढे १८ लाख सयपत्री फूलको माला खपत हुने देखिएको छ । गत वर्षभन्दा यस वर्ष कोरोना महामारीको असर कम हुँदै जाँदा धेरै नागरिकले तिहार मनाउँदैछन् । तिहारका लागि घरमै रोपेका सयपत्री फूलका बोट कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले क्षति पुगेको थियाे । यसकारण गत वर्षभन्दा यस पटक फूलमाला धेरै विक्री हुँदैछ ।
फ्लोरिकल्चर एशोसिएशन अफ नेपालले गत वर्ष र यस वर्ष फूलमालाको माग करिब करिब उस्तै–उस्तै रहेको र खासै धेरै फरक नरहेको जनाएको छ । फ्लोरिकल्चर एशोसिएशन अफ नेपालका अध्यक्ष मीनबहादुर तामाङले यस वर्ष तिहारका लागि साढे १८ लाख फूलमाला खपत हुने अनुमान गर्नुभएको छ ।
‘सयपत्री फूलको माला साढे १५ लाख विक्री हुने अनुमान छ । त्यसमध्ये दुई लाख ५० हजार माला अपुग हुन्छ । त्यो भारतबाट आयात गरेरका छौं,’ अध्यक्ष तामाङले भन्नुभयो । गत वर्ष तिहारमा १३–१४ लाख वटा फूल माला विक्री भएको फ्लोरिकल्चर एशोसिएशन अफ नेपालले जनाएको छ । अध्यक्ष तामाङका अनुसार गत वर्ष तिहारमा ११ देखि १२ करोड रुपियाँका माला विक्री भएको तथ्याङ्क सङ्कन भएको थियो ।
यस वर्ष साढे १८ लाख वटा माता खरिद विक्री हुने आँकलन रहेको उहाँले बताउनुभयो । यसैगरी मखमली र गोदावरीको माला तीन लाख वटा र सयपत्रीको माला साढे १५ लाख वटा माला विक्री हुने उहाँ बताउनुहुन्छ ।
तिहारमा बजारमा आउने मखमली मालाको माग भने स्वदेशी उत्पादनले नै धान्ने आँकलन छ । तिहारको माग धानेर मखमलीको एक लाख माला खाडीलगातय यूरोप, अमेरिका, अस्ट्रेलिया नियात हुने उहाँले बताउनुभयो ।
यसैगरी, यस वर्ष सयपत्रीको खुद्रा मूल्य एक सय रुपियाँ र मखमलीको खुद्रा मूल्य ७० रुपियाँ पुग्न सक्छ । ‘आजको बजार हेर्दा भारतबाट ल्याइएको माला यत्रतत्र विक्री भएको पाइएको छ । त्यो माला ५० देखि ६० रुपियाँसम्मा विक्री भएको थियो,’ उहाँले भन्नुभयो, ‘तर, नेपालमै उत्पादित सयपत्री फूल माला ८० देखि ९० रुपियाँमा विक्री हुन्छ ।’
सयपत्रीको फूलको मालाको थोक मूल्य ८० देखि रुपियाँसम्म पर्नेछ । त्यस्तै मखमली मालाको थोक मूल्य ४० देखि ५० रुपियाँसम्म पर्ने अनुमान एशोसिएशनले गरेको छ ।