काठमाडौं - सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा एक जना ट्राफिक प्रहरी नायब निरीक्षक (सई) लाई कारबाही गरिएको छ।
नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्कालाई उनको जिम्मेवारीबाट हटाएर थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्साल तानिएको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले सई खड्काले हस्ताक्षर गरेको विषय सार्वजनिक भएपछि यसबारे बुझ्नका लागि उनलाई हेडक्वार्टर बोलाइएको पुष्टि गरे।
रास्वपाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै उनको बचाउमा देशव्यापी रूपमा 'नागरिकस्तरबाट' हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ।
सोही अभियानमा सई खड्काले हस्ताक्षर गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो। बहालवाला प्रहरी कर्मचारीले कुनै राजनीतिक दल वा व्यक्तिको पक्षमा खुल्न नपाउने नियमविपरीत काम गरेको भन्दै उनको आलोचना भएपछि प्रहरी संगठनले उनलाई छानबिनको दायरामा तानेको हो।