लन्डन - भारतले घरेलु टोली इङ्ग्ल्यान्डलाई अन्तिम तथा पाँचौं टेस्ट क्रिकेटमा ६ रनले पराजित गर्दै पाँच खेलको शृङ्खला २-२ को बराबरीमा टुङ्ग्याएको छ । यो जित टेस्ट क्रिकेटमा रनको हिसाबले भारतको सबैभन्दा कम अन्तरको जित हो।
लन्डनको केनिङ्टन ओभलमा भारतले प्रस्तुत गरेको ३७४ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड, खेलको पाँचौं तथा अन्तिम दिन लन्चअघि ३६७ रनमा अलआउट भयो ।
खेलको अन्तिम दिन जितका लागि ३५ रन आवश्यक हुँदा इङ्ग्ल्यान्डसँग ४ विकेट बाँकी थियो । तर, भारतीय बलरहरूको उत्कृष्ट प्रदर्शनसामु इङ्ग्लिस टोलीले २८ रन मात्र थप्न सक्यो र आफ्ना सबै विकेट गुमायो । भारतका लागि मोहम्मद सिराजले घातक बलिङ गर्दै ५ विकेट लिए भने प्रसिद्ध कृष्णाले ४ विकेट हात पारे ।
यसअघि, भारतले आफ्नो दोस्रो पारीमा यशस्वी जैसवालको शतक तथा रवीन्द्र जडेजा र वाशिङ्गटन सुन्दरको अर्धशतकको मद्दतले ३९४ रन बनाएको थियो । इङ्ग्ल्यान्डका लागि जोश टङ्गले ५ विकेट लिए ।
पहिलो पारीमा भारतले २२४ रन बनाएको थियो भने इङ्ग्ल्यान्डले २४७ रन बनाउँदै २३ रनको सामान्य अग्रता लिएको थियो ।