काठमाडौँ - आफ्नो हवाई सुरक्षा क्षेत्रमा चिनियाँ लडाकु विमानहरू प्रवेश गरेपछि चीनलाई आफूहरूलाई नजिस्काउन ताइवानले चेतावनी दिएको छ। हिजो सोमबार चीनका ५६ वटा लडाकु विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेपछि ताइवानले यस्तो चेतावनी दिएको हो।
चीनको हवाई सेनाले अहिलेसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौँ लडाकु विमान उडाएको पहिलो घटना हो। ताइवानले दुई देशबीच बढ्दो तनावको प्रमुख दोषी चीन रहेको आरोप लगाएको छ। चीनले भने ताइवानसँग तनावको अवस्था आउनुमा अमेरिका दोषी रहेको जिकिर गर्दै आएको छ। केही दिनअघि चीनका झण्डै ४० वटा सैनिक जहाज ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका थिए।
चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रूपमा लिने गरेको छ। तर ताइवान भने आफू स्वतन्त्र सार्वभौम देश रहेको बताउँछ। विगत एक वर्षभन्दा बढी समयदेखि चीनले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्दै आएको ताइवानको आरोप छ।