×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

मोबाइल चलाएरै सकिन्छ दिन: इन्टरनेटलाई किन कमाइसँग जोड्न सकेन नेपालले?

मोबाइल चलाएरै सकिन्छ दिन: इन्टरनेटलाई किन कमाइसँग जोड्न सकेन नेपालले?

काठमाडौं - नेपालमा प्रविधिको विस्तार लोभलाग्दो देखिए पनि यसको प्रयोग उत्पादनमूलक हुन नसकेको सरकारी तथ्याङ्कले देखाएको छ। अर्थ मन्त्रालयको पछिल्लो आर्थिक स्थितिपत्रअनुसार नेपालमा इन्टरनेट ग्राहकको घनत्व १४४ प्रतिशत नाघिसकेको छ, तर यसको ठुलो हिस्सा केवल मनोरञ्जनमा मात्र सीमित छ। पहुँचको हिसाबले यो उपलब्धि सकारात्मक देखिए पनि प्रविधिको गुणस्तर र यसबाट लिइने आर्थिक लाभमा भने नेपाल निकै पछि देखिएको छ।

नेपालका ९६ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरू अझै पनि मोबाइल उपकरणकै भरमा छन्। यसले के देखाउँछ भने, धेरै नेपालीहरूको पहुँचमा अझै पनि उच्च गतिको र भरपर्दो फिक्स्ड ब्रोडब्यान्ड पुग्न सकेको छैन। सहरमा केही सुविधाहरू केन्द्रित भए पनि ग्रामीण क्षेत्रमा इन्टरनेटको गति र गुणस्तर निकै कमजोर छ, जसका कारण प्रविधिलाई व्यवसाय वा शिक्षासँग जोड्न चुनौती थपिएको छ।

चिन्ताको विषय त के छ भने, इन्टरनेटको प्रयोग उत्पादन र उत्पादकत्व बढाउनुभन्दा बढी समय बिताउने माध्यम मात्र बनेको छ। डिजिटल साक्षरताको कमीले गर्दा धेरैजसो प्रयोगकर्ताहरू सामाजिक सञ्जाल र मनोरञ्जनमै अल्झिएका छन्। प्रविधिलाई आर्थिक रूपान्तरण र नवप्रवर्तन (Innovation) सँग जोड्न नसक्दा यसले देशको अर्थतन्त्रमा सोचेजस्तो योगदान दिन सकेको छैन।

विश्व बैंकको तथ्याङ्कलाई उद्धृत गर्दै सरकारले अनुसन्धान र विकास (R&D) मा हुने लगानी अत्यन्तै न्यून रहेको स्वीकार गरेको छ। कुल गार्हस्थ्य उत्पादनको जम्मा ०.३ प्रतिशत मात्र लगानी हुनुले नेपालको कमजोर 'इनोभेसन इकोसिस्टम'लाई छर्लङ्ग पारेको छ। जबसम्म पर्याप्त लगानी र मौलिक सोचलाई प्रोत्साहन गरिँदैन, तबसम्म इन्टरनेट केवल उपभोगको वस्तु मात्र रहने र यसबाट अपेक्षित आर्थिक समृद्धि हासिल नहुने प्रतिवेदनको निष्कर्ष छ।

प्रतिकृया दिनुहोस्