×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेतोपाटीलाई आयोगले प्रष्टीकरण नसोध्ने

सेतोपाटीलाई आयोगले प्रष्टीकरण नसोध्ने

काठमाडौँ- नेकपा एमाले उम्मेदवारलाई जोडेर समाचार लेखेको भन्दै सेतोपाटी अनलाइनलाई शनिबार प्रष्टीकरण सोधेको निर्वाचन आयोगपछि हटेको छ।

सेतोपाटीमा छापिएको ‘अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा नेपाली नागरिकता कायमै’ भन्ने शीर्षकमा छापिएको समाचारले उम्मेदवारको मान प्रतिष्ठामा आँच पुगेको भन्दै आयोगले २४ घण्टे प्रष्टीकरण माग गरेको थियो। 

शनिबार साँझ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सेतोपाटीका प्रधान सम्पादक अमित ढकाललाई फोन गरेर भुलवस पत्र काटिएको जनाउँदै प्रष्टीकरण पत्र फिर्ता लिने जानकारी गराएका हुन्।

थपलियाले मिडियाको अनुगमन र कारबाही गर्ने जिम्मेवारी प्रेस काउन्सिलकै भएको र त्यसलाई आयोगले नीतिगत रूपमा स्वीकार गरिसकेकाले फरक व्यवहार नहुने प्रतिबद्धता जनाएका छन्।

पत्र फिर्ताका लागि अर्को पत्र तयार भए पनि एक अधिकृतले हस्ताक्षर गर्न नमानेका कारण शनिबार साँझ सेतोपाटीलाई सोधेको प्रष्टीकरण फिर्ता हुन नपाएको आयोग स्रोतले जानकारी दियो।

स्रोतका अनुसार, ‘आयुक्त भएको निर्णय सच्याउने अधिकार मलाई छैन भनेर अधिकृत पन्छिदा शनिबार नै अर्को पत्र पठाउन सकिएन। आइतबार प्रष्टीकरण पत्र फिर्ता लिएको अर्को पत्र सेतोपाटीलाई जान्छ।’

आयोग स्रोतका अनुसार सेतोपाटीलाई प्रष्टीकरण सोध्ने निर्णय आचार संहिता हेर्न आयुक्त रामप्रसाद भण्डारीको एकल निर्णयबाट भएको हो। शनिबार प्रमुख आयुक्त थपलिया झापा पुगेका थिए।

प्रतिकृया दिनुहोस्