काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सदस्यता र लेबीबापतको शुल्क भुक्तानी गरेका छन्। उनले बुधबार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा स्वयं उपस्थित भई ३ लाख ३ हजार ६ सय रुपैयाँ बुझाएका हुन्।
पार्टीको वित्त तथा कोष व्यवस्थापन विभागमा शुल्क बुझाएपछि अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद हस्तान्तरण गरेका थिए।
एमालेको नियमानुसार, प्रधानमन्त्री, मन्त्री, सांसद जस्ता राजकीय पदमा रहेका नेताहरूले पार्टीलाई मासिक रूपमा लेबी बुझाउनुपर्ने प्रावधान छ। सोही व्यवस्थाअनुसार ओलीले राजकीय पदमा रहेकोले मासिक २५ हजारका दरले एक वर्षको ३ लाख रुपैयाँ र पार्टी सदस्यताबापत मासिक ३०० रुपैयाँका दरले एक वर्षको ३ हजार ६ सय रुपैयाँ गरी कूल ३ लाख ३ हजार ६ सय रुपैयाँ भुक्तानी गरेका हुन्।