काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइन अन्तर्गत अर्थमन्त्रीलाई बिबादमा तानिएको बताएका छन्। मन्त्री पदबाट राजीनामा दिएर नेता जनार्दन शर्माले षडयन्त्र गर्नेहरूलाई जवाफ दिएको प्रचण्डको भनाइ छ।
पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले अर्थमन्त्रीले आफूले केही गरेको छैन भनेको तर संसदमा कुरा उठेपछि उनले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गरेको पनि बताए। उनले शर्माले राजीनामा नगरेको भए त्यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भइरहेको पनि बताए।
उनले भने, ‘त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ। यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्छ।’ आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले राजीनामा दिएका थिए।
संसदमा राजीनामा दिएको घोषणा गर्दै उनले बजेट प्रकरणमा छानबिनका लागि बनाइएको संसदीय समितिलाई सहयोग गर्ने बताएका थिए। शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको पनि उनले बताए।