×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जन्मदिनमा तामझाम देखाउँदा गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना पक्राउ

जन्मदिनमा तामझाम देखाउँदा गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना पक्राउ

काठमाडौं - जन्मदिनको अवसरमा सडकमा तामझाम र होहल्ला गरेको आरोपमा प्रहरीले गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनसहित ४७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरूलाई राजधानीको ठमेल र महाराजगञ्ज क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, चक्रे मिलनले बुधबार आफ्नो जन्मदिन मनाउने क्रममा महाराजगञ्जस्थित होटल साम्बालामा पार्टी आयोजना गरेका थिए। होटल जानुअघि उनले दर्जनौं गाडीको र्‍याली निकालेर सडक नै अवरुद्ध हुने गरी तामझाम देखाएका थिए। यही सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

आपराधिक गतिविधिमा सक्रियता

पक्राउ परेकाहरू पछिल्लो समय ठमेल, महाराजगञ्जलगायतका क्षेत्रमा हप्ता असुली, धम्की, कुटपिट र गुण्डागर्दीजस्ता आपराधिक क्रियाकलापमा सक्रिय रहेको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्वमा भएको यस कारबाहीमा चक्रे मिलनका सहयोगीहरू पनि पक्राउ परेका छन्।

यसैगरी, प्रहरीले बुधबार बिहानै ठमेलको एक दोहोरी साँझबाट युवराज गुरुङ उर्फ 'सानुभाइ'लाई पनि पक्राउ गरेको छ। उनी प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ 'घैँटे'का पूर्वसहयोगी हुन्।

पटक-पटक पक्राउ पर्दै छुट्दै

लामो समयदेखि आपराधिक गतिविधिमा संलग्न चक्रे मिलन प्रहरीको विशेष निगरानीमा थिए। उनी यसअघि पनि पटक-पटक पक्राउ पर्दै र कानुनी छिद्रको फाइदा उठाउँदै छुट्दै आएका थिए। उनी पछिल्लो पटक २०७४ सालमा महाराजगञ्जबाट पक्राउ परेका थिए।

विगतमा उनको राजनीतिक पहुँच पनि देखिएको थियो। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले उनलाई गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि सिफारिस गरेको थियो।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान गरी मुद्दा चलाउन अदालतमा पेस गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्