केरा खेतीमा झापा आत्मनिर्भर बनेको छ । कृषि ज्ञानकेन्द्रको तथ्यांकमा झापामा उत्पादन भएको केरा अन्य जिल्लामासमेत निर्यात हुन थालेको छ ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा केरा खेती विस्तारका लागि संघीय सरकारमार्फत केरा खेती पकेट क्षेत्र सञ्चालन भइरहेको छ । जसबाट कृषक समूह, कृषि फर्मलाई अनुदान कार्यक्रम दिइदा केरा खेती बर्सेनि बढिरहेको छ । उनका अनुसार गत आर्थिक वर्ष ०७७/०७८ मा झापामा एक हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती भएको थियो । जहाँ ३७ हजार मेट्रिक टन केरा उत्पादन भएको उनले बताए । जुन आर्थिक वर्ष ०७६/०७७ को भन्दा धेरै हो । उक्त आर्थिक वर्षमा एक हाजर सात सय ७२ हेक्टरमा केरा लगाइएको थियो । जहाँ ३६ हजार तीन सय २६ मेट्रिक टन केरा उत्पादन भएको थियो ।
‘केराको बजार राम्रो छ । यसमा कृषकलाई राम्रो आम्दानी हुन्छ । त्यसकारण पनि कृषक केरा खेतीप्रति आकर्षित छन्,’ प्रमुख सिंहले भने, ‘बगानबाटै ६० देखि ८० रुपैयाँ दर्जनमा केरा बिग्छ । केरा खेती गर्ने किसानलाई बजारको चिन्ता छैन ।’ यद्यपि, गत आर्थिक वर्षको तुलनामा झापामा केराको उत्पादकत्व भने घटेको छ । आर्थिक वर्ष ०७६÷०७७ मा केराको उत्पादनकत्व प्रतिहेक्टर २० दशमलव ५ मेट्रिक टन थियो । अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा घटेर प्रतिहेक्टर उत्पादकत्व २० मेट्रिक टनमा झरेको ज्ञान केन्द्रको तथ्यांक छ । ‘केराको बोट सुक्ने र रेड बिटल किरा लाग्ने समस्याका कारण उपादकत्व घटेको देखिएको छ,’ प्रमुख सिंहले भने, ‘यो समस्या समाधानका लागि कृषि अनुसन्धान निर्देशनालय तरहराको विज्ञ टोली बोलाएर अनुसन्धान पनि गराएका छौँ ।’