दैलेख - दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा तीजको नाच हेरेर घर फर्किँदै गरेकी एक १२ वर्षीया बालिकामाथि लखेटी–लखेटी सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
साउन २२ गते राति भएको उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चामुण्डाबिन्द्रासैनी–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेश बरालका अनुसार, छिमेकी गाउँकी बालिकालाई उनीहरूले पालैपालो बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यसरी भयो घटना
डीएसपी बरालका अनुसार, साउन २२ गते राति पीडित बालिकासहित ४/५ जना किशोरीहरूको समूह तीजको नाच हेरेर घर फर्किँदै थियो। सोही क्रममा शाही र भण्डारीले उनीहरूलाई पिछा गरेका थिए। पिछा गरेको थाहा पाएपछि किशोरीहरू भाग्न थाले। भाग्ने क्रममा पीडित बालिका लडेपछि दुवैले उनलाई नियन्त्रणमा लिई पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।
आरोपीहरूले बालिकालाई ढुंगाले समेत हानेका थिए, जसकारण उनको हातमा चोट लागेको र उनी भाग्न नसकेको बताइएको छ। उनीसँगै रहेका अन्य किशोरीहरू भागेर घरमा खबर गरेपछि अभिभावक घटनास्थल पुगेका थिए। आफन्त आएको थाहा पाएपछि शाही र भण्डारी फरार भएका थिए।
पीडितको उपचार हुँदै, अनुसन्धान जारी
पीडितका आफन्तले शुक्रबार प्रहरीमा किटानी जाहेरी दिएपछि सोही आधारमा उनीहरूलाई पक्राउ गरिएको डीएसपी बरालले बताए।
घटनालगत्तै बालिकालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। उनको दाहिने हात मर्किनुका साथै गुप्तांगमा चोट लागेको चिकित्सकले बताएका छन्। हाल उनको अवस्था सामान्य रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।