काठमाडौं - सत्तासिन दल नेकपा (माओवादी केन्द्र), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय सहमतिको राष्ट्रपतिमा जोड दिएका छन् । सात दलीय गठबन्धनको सहारामा सरकारको नेतृत्व गरिरहेको माओवादीले उठाएको राष्ट्रिय सहमतिको एजेन्डामा प्रतिपक्ष दल कांग्रेस र नेकपा एसले बल थपेका हुन् ।
प्रतिपक्षी दलको समेत विश्वासको मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको अडानलाई गठबन्धन दलका शीर्ष नेताहरुसँग भएको बैठकमा पुनः दोहो¥याउनुभयो । दाहालले आइतबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपति राष्ट्रिय सहमतिकै आधारमा बनाउनुपर्ने अडान कायमै राख्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर यस विषयमा सत्ता गठबन्धनको मुख्य घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाउँदै सरकार गठनका दिन गरेको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने जिकिर छाड्नुभएको छैन ।
प्रधानमन्त्री दाहालले विश्वासको मत दिने पार्टीहरूको भावना पनि सम्बोधन गर्नुपर्ने कुरामा जोड दिनुभयो । आइतबार नै पार्टी कार्यालय पेरिसडाँडामा पार्टीको केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा विश्वासको मत दिएका दलहरुको भावना समेटेर लैजानुपर्ने आफ्नो दायित्व भएको बताउनुभएको थियो । सरकार गठन हुँदा एउटा परिवेश भएको र अहिले आएर राजनीतिक घटनाक्रम फरक ढंगले अघि बढेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । विश्वासको मतपछि राजनीतिक परिस्थितिमा हेरफेर आएको बताउँदै उहाँले भन्नुभयो– ‘विश्वासको मतपूर्व एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो । अहिले सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्दै राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ ।’ सोही कारण आफूले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको प्रधानमन्त्री दाहालको भनाइ छ ।
खास गरी सत्ताधारी गठबन्धनबाट नेकपा एमालेले राष्ट्रपतिको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेको छ । त्यस्तै संसद्को सबैभन्दा ठूलो र प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आफ्नो दाबी प्रस्तुत गरिरहेको छ । यीबाहेक साना राजनीतिक दलहरुले समेत राष्ट्रपतिको दाबी गरेका छन् । दलहरुले आ–आफ्नो दाबी पेस गरिरहँदा सत्ताको नेतृत्व गरिरहेको संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) ले साझा सहमतिको कुरालाई जोड दिएको छ । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले केही दिनयता निरन्तर सहमतिको रटान लगाइरहनुभएको हो ।
नेकपा माओवादी पार्टीको गत हप्ता बसेको बैठकमा समेत उक्त एजेन्डाले राम्रै बजार पाएको नेताहरुले बताएका छन् । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले पार्टीको गत बैठकमा राष्ट्रिय सहमतिको राष्ट्रपतिको विषयमा बहस भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘राष्ट्रपति कुनै राजनीतिक दलले लाए अह्राएको भन्दा पनि नेपालको संविधान, वर्तमान व्यवस्था र नेपालको अवस्थालाई समेत बुझेर निर्णय लिन सक्ने व्यक्ति हुनुपर्छ भन्ने हो । जोसुकै दलले समर्थन गरेको व्यक्ति भए पनि सबै दलहरुले साझा सहमति गरेर जान सके राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा राम्रो सन्देश दिन पनि राष्ट्रिय सहमतिको कुरा अघि सारिएको हो ।’
राष्ट्रपतिको निर्वाचन आगामी फागुन ५ मा गर्ने भनेर निर्वाचन आयोगले तयारी थालेसँगै राजनीतिक दलहरुले पनि यो विषयमा आ–आफ्नो तयारी तीव्र बनाएका छन् । सत्ता र सत्ता बाहिर रहेका दलहरुले राष्ट्रपतिको उम्मेदवारका विषयमा टुंगो नलगाए पनि आ–आफ्नो दाबी पेस गरेर आफ्नै पक्षमा माहोल निर्माण गर्न लागिपरेका हुन् । नेपाली कांग्रेस वर्तमान सत्ता समीकरणलाई चाँडै टुटाउन चाहन्छ । सकभर राष्ट्रपतिकै निर्वाचन अघि सत्ता गठबन्धन फुटाएर राष्ट्रपतिसहित राज्यका शक्तिहरु हात पार्ने रणनीतिमा रहेको कांग्रेसले माओवादीका नेताहरुसँगको संवादलाई अघि बढाएको छ । सबै दलहरुको सहमतिकै आधारमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने नेताहरुले बताएका छन् ।