×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आइसीसी महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने

आइसीसी महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने

काठमाडौं - नेपाली क्रिकेटले एक ऐतिहासिक सफलता हासिल गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२६ मा हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजनाको जिम्मेवारी नेपाललाई दिएको छ। यो नेपालले आयोजना गर्न लागेको हालसम्मकै सबैभन्दा ठूलो र प्रतिष्ठित क्रिकेट प्रतियोगिता हो।

आईसीसीको घोषणा अनुसार, प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ (वि.सं. २०८२ माघ २९ देखि फागुन ४) सम्म नेपालमा सञ्चालन हुनेछ।

यस ग्लोबल छनोट प्रतियोगितामा कुल १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकप २०२६ मा आफ्नो स्थान सुरक्षित गर्नेछन्।

ग्लोबल छनोटका लागि अहिलेसम्म पाँच राष्ट्रले स्थान पक्का गरिसकेका छन्। सन् २०२४ को विश्वकपमा सहभागी बंगलादेश र आयरल्याण्ड स्वतः छनोट भएका छन्। त्यसैगरी, एसिया क्षेत्रबाट आयोजक नेपाल र थाइल्याण्ड तथा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका छनोट भइसकेका छन्।

बाँकी पाँच टोलीको टुङ्गो क्षेत्रीय छनोटबाट लाग्नेछ, जसमा अफ्रिका र युरोपबाट दुई–दुई तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली आउनेछन्।

नेपालमा हुने प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि सुपर सिक्स र त्यसपछि फाइनल खेल हुनेछ। आईसीसीले प्रतियोगिताको विस्तृत खेल तालिका पछि सार्वजनिक गर्ने जानकारी दिएको छ।

नेपालले पहिलोपटक आईसीसीको विश्वकप छनोट जस्तो प्रतिष्ठित प्रतियोगिता आयोजना गर्नु नेपाली क्रिकेटका लागि एक ऐतिहासिक कोसेढुङ्गा हो। यसले नेपालको महिला क्रिकेटको विकास, पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्