राम्रोसँग स्तनपान गरेका बच्चाहरूको तुलनामा दूध चुस्न नपाएका बच्चाहरूको आफ्नो पहिलो वार्षिक जन्मदिन अघि नै मृत्यु हुने जोखिम्हुने 14 गुणा बढी पाइएको छ
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण एनडीएचएस २०२२ ले ६ महिनाभन्दा मुनिका ५६ प्रतिशत बालबालिकालाई पूर्ण रूपमा स्तनपान गराउने गरेको देखिन्छ जुन सन् २०११ को सर्वेक्षणमा ७० र सन् २०१६ मा ६६ प्रतिशत थियो ।
नेपाल मल्टिइन्डिकेटर क्लस्टर सर्वेअनुसार नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपानको सुरुवात गर्नेको संख्या ४२ प्रतिशत छ।
कामकाजी महिलामा बढोत्तरी, व्यस्तता, संक्रमण, कम सुत्केरी बिदा, फिगर बिग्रिने, दूध नै नआउने— तनाव, मोटोपना तथा गर्भवतीमा राम्रो स्याहार नपाउँदाका कारण स्तनपान दर घट्ने हरेको हो ।
स्तनपान नगराउने समस्या सहर बजारमा बढ्दो छ भने गाउँघरका आमाहरू उचित खानपानको अभाव, कामको चाप तथा अज्ञानताले यथेष्ट स्तनपान गराउन सक्दैनन्। सबै सरकारी तथा गैरसरकारी कार्यालयहरूमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र नहुनाले पनि पूर्ण स्तनपानबाट शिशुहरू छुट्दै आएका छन।
एउटा स्वस्थ आमाको स्तनबाट बच्चाको दैनिक आवश्यकता पूरा गर्न दैनिक ९ देखि १२ सय मिलिलिटर दूध निस्कन्छ।
जसमा ८८.२० प्रतिशत पानी, १.२५ प्रतिशत प्रोटिन, ल्याकटोज ७.२ प्रतिशत, ३.१ प्रतिशत चिल्लो पदार्थ हन्छ। त्यस्तै ०.२८ प्रतिशत क्याल्सियम र भिटामिन सी ०.३ प्रतिशत तथा भिटामिन ए, बी कम्पेलक्स, सी, डी र ई तथा लाइपेज इन्जाइम र शक्तिवद्र्धक थुप्रै तत्त्वहरू पाइन्छन्।
आमाको सुरुको दूध ७—१० दिनभित्रको अलि बाक्लो, पहेँलो र च्यापच्याप लाग्ने, वंशाणुगत, कोलोस्टमसहित हुन्छ जसलाई बिगौती दूध भनिन्छ।
जसमा हानिकारक संक्रामक जीवाणु र कीटाणुलाई नष्ट पार्ने, संक्रामक रोगसँग लड्न सक्ने तत्त्वहरू भएको, कार्बोहाइटेड, प्रोटिन, चिल्लो पदार्थको अलावा सबै पौष्टिक तत्त्वले भरिपूर्ण भएकोले बिगौती दूधलाई पहिलो खोप पनि भनिन्छ।
आमामा जन्मेदेखि गर्भधारण गर्दासम्म उत्पन्न भएका रोगहरू विरुद्ध विकसित एन्टिबडी भएको दूध, बच्चा जन्मनेबित्तिकै वा ढिलोमा जन्मेको आधादेखि एक घण्टाभित्रै खुवाउनु पर्दछ। पिप मिसिएको दूध भनी फ्याक्ने, मह चटाउने, घिउ, जन्मघुँटी, ग्लुकोज र घोटीचौथी खुवाउनेजस्ता कार्यहरू उचित होइनन् ।
आमाको दूधमा रहने इम्युनोग्लोबिन ‘ए’ ले रोगसँग लड्न एन्टिबडीको काम गरी पाचन प्रणालीमा लाग्ने संक्रमण रोक्छ। तर, सरकारी तथा गैरसरकारी कार्यालयहरूमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र नहुनाले पनि पूर्ण स्तनपानबाट शिशुहरू छुट्दै आएका छन्
स्तनपानले आमाको सौन्दर्यमा वृद्धि हुने गर्दछ। गर्भावस्थामा सञ्चित बोसो घटाउँदछ। स्तनपान गराउँदा प्रोजेस्टेरोन हर्मोनको वृद्धिले ६ महिनासम्म गर्भ निरोधकको रूपमा काम गरेको पाइन्छ। गर्भधारण ढिलो हुन गई गर्भान्तरमा पनि मद्दत पुग्द। स्तनपान ५० प्रतिशतले कम गर्दा १७–३७ प्रतिशत प्रजनन दरमा वृद्धि हुन्छ।
डब्बा तथा अन्य दूध खुवाउँदा हुने खर्चको आर्थिक भार तथा बिरामी भई उपचारमा लाग्ने खर्चको भार कम हुन्छ। आमालाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक, सुखानुभूति, गौरव, मानसिक स्वस्थता र आत्मसन्तुष्टि प्रदान गर्दछ।
बच्चाले दूध चुस्दा अक्सिटोसिन हर्माोन उत्पन्न भई दूध पगार्ने भएकोले बच्चा गर्भमा रहेको बेला खुलेको आमाको पाठेघरलाई खुम्चन मद्दत पुर्याउछ तथा पाठेघरमा लाग्ने रोगहरू न्यूनीकरण गर्दछ। प्रसवपछि हुने रक्तस्रावलाई रोक्दछ।
त्यसैगरी आमालाई पछि गएर हुने डिम्बाशय, स्तन र पाठेघरको क्यान्सर हुने सम्भावना ८ गुणाले कम हुन्छ। तसर्थ स्तनपान गराउँदा आमाले पूर्णता पाउँछ।