×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सामाजिक सञ्जालबाट हैरान सेलिब्रेटी

सामाजिक सञ्जालबाट हैरान सेलिब्रेटी

काठमाडौँ- शनिबार दिनभरजसो अभिनेत्री आँचल शर्मालाई सामाजिक सञ्जालमा आएका पोस्टहरूले हैरान गरायो।

आफूले दिँदै नदिएको अभिव्यक्तिलाई उनले स्पष्टीकरण दिइरहिन्। अन्त्यमा साँझ उनी नेपाल प्रहरीको साइबर ब्यूरो नै पुग्नुपर्ने बाध्यता आइलाग्यो।

आँचलले चर्चित अभिनेता दयाहाङ राईलाई ‘पाखे गवाँरहरूको अभिनेता’को आरोप लगाइन्’ भन्दै एउटा फेसबुक पेजले उनलाई तनाव दिएको थियो।

त्यही पेजबाट पोस्ट भएको उक्त अभिव्यक्तिका कारण आँचलले सामाजिक सञ्जालमा खानुसम्म गाली खाइन्।

नेपाली सेलिब्रेटीले सामाजिक सञ्जालका कारण भोग्नुपरेको यो खाले हैरानी पहिलो पटक भने होइन। यसअघि नाम चलेका/नचलेका धेरै कलाकारहरू सामाजिक सञ्जालका कारण 'फेक न्युज' को शिकार भएका छन्।

अहिले सामाजिक सञ्जालबाटै सबैभन्दा बढी गालीगलौज सहने कलाकार हुन् गायिका समीक्षा अधिकारी। जसका कारण उनको मानसिकतामा नै असर पर्न थालेको छ। 'साइबर स्यालहरू'का कारण उनी अहिले तनावमा छिन्।

अनेक खालका तथानाम गाली आए पनि आफूमा सहन सक्ने क्षमता रहेको बताउँदै आएकी छन्। तर उनीमाथिको आक्रमण रोकिएको भने छैन।

सामाजिक सञ्जालबाटै कयौँपटक आफूलाई धम्की आएको बताएकी समीक्षाले अहिलेसम्म भने यसबारे कतै उजुरी गरेकी छैनन्।

सामाजिक सञ्जालकै कारण मारमा परेकी अर्की अभिनेत्री हुन् रेखा थापा। गत फागुन २० गते थापाले एक युट्युबरविरुद्ध प्रहरीमा उजुरी नै दिनुपरेको थियो । उनले आफूलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।

नाबालिग गायिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत व्यक्त गरेकी थिइन्।

उनले उक्त अभिव्यक्ति दिएलगत्तै युट्युबमा उनीविरुद्ध 'विष ओकलिएको' थियो। विभिन्न माध्यमबाट आफूलाई गाली गरिएको र चरित्र हत्या भएको भन्दै रेखा पनि साइबर ब्यूरो धाउनुपरेको थियो।

सामाजिक सञ्जालबाटै हिंसाको शिकार हुने अर्की अभिनेत्री हुन् दीपाश्री निरौला। २०७७ सालमा अभिनेता राजेश हमाललाई 'महानायक हो र' भन्ने अभिव्यक्ति दिएपछि उनी पनि सामाजिक सञ्जालबाटै हिंसा भोग्न बाध्य हुनुपर्यो।

उनको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले एक महिनासम्म उनलाई ट्रोल बनाए। उनको खिल्ली उडाइयो। यहाँसम्म कि उनलाई ज्यान मार्ने धम्कीसमेत आएको थियो।

कोरोना महामारीका समयमा प्राविधिक लगायतलाई अप्ठ्यारो परेको बेला होस्टेमा हैँसे गर्नुको साटो घरमै बस्ने पनि 'महानायक हुन्छ र' भन्ने दीपाश्रीको अभिव्यक्ति जायज नै थियो। तर सामाजिक सञ्जाल प्रयोगकर्ताले बुझेनन्। उल्टो दीपालाई गाली गर्न लागिपरिरहे।

कलाकार निरौलालाई सामाजिक सञ्जालमार्फत नै अभिव्यक्ति फिर्ता लिन बाध्य बनाइएको थियो। तर, उनीमाथिको गाली गलौजको वर्षा रोकिएन। यति मात्र होइन, दीपाको बचाउमा दीपकराज गिरी स्वयं आउनुपरेको थियो। गिरीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभमार्फत हमालका विषयमा दीपालाई गाली नगर्न भनेका थिए। उनले दीपालाई गाली गर्नेलाई कारबाही गर्नुपर्ने समेत बताएका थिए।

नाम जुधेकै कारण एउटालाई गरेको गाली अर्कैलाई परेपछि...

कोरोनाकालमा अर्थात् २०७७ जेठमा अभिनेत्री वर्षा राउत पनि सामाजिक सञ्जालमा ट्रोल भइन्। उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले गालीगलौज गर्नेभन्दा पनि उनको खिल्ली बढी उडाए।  

एक अन्तर्वार्तामा वर्षाले नेपाल र भारतका मिडियाका कारण आफूलाई भारतीय साथीहरूसँग कुरा गर्न गाह्रो भएको बताइन्। उनको यो अभिव्यक्ति सुनेका केही सामाजिक सञ्जाल प्रयोगकर्ताले वर्षाको उछितो नै काढेका थिए।

तर एउटा अचम्म भयो, अभिव्यक्ति दिने वर्षा (राउत) थिइन्, तर गाली खाने भने वर्षा शिवाकोटी परिन्। नाम एउटै भएका कारण शिवाकोटी वर्षाले सामाजिक सञ्जालमा भक्कू गाली खाइन्।

सामाजिक सञ्जालमा मेन्सन गरेरै वर्षा सिवाकोटीलाई गाली गर्न मानिसहरू लागिपरेका थिए। आफूविरुद्ध अति नै हुन थालेपछि वर्षा शिवाकोटीले सामाजिक सञ्जालबाटै 'नाम र थर हेर्ने कष्ट गर्नुहोला' भन्दै स्पष्टीकरण दिनुपरेको थियो।

शिवाकोटी वर्षा यही विषयलाई लिएर प्रहरीको साइबर ब्यूरोसम्म पुगेकी थिइन्।

नक्कली आईडी बनाएर ठगी

नेपालका लोक तथा दोहोरी गीतका गायक रामजी खाँण पनि सामाजिक सञ्जालकै शिकार भए। उनको नामको नक्कली एकाउन्टबाट एउटा गिरोहले पैसा उठाउने काम गरेको थियो।

२०७७ साल मंसिरमा उनको नामको नक्कली फेसबुक आईडी बनाएर उनका नजिकका मान्छेहरूसँग पैसा माग्ने गरेको पाइएको थियो। उक्त नक्कली आईडीले ‘अनलाइन रोधीघर’ भन्दै देश विदेशमा रहेका नेपालीसँग पैसा माग्ने गरेको थियो।

विभिन्न बहाना बनाएर आफ्नो नामबाट पैसा उठेको थाहा पाएपछि रामजीले साथीहरूलाई सचेत गराएका थिए।

उनका अनुसार ठगी गर्ने व्यक्तिको सक्कली नाम शोभाराम डाँगी रहेको थियो। रामजीको नाममा मलेसियाबाट एक जनाले २५ हजार र अन्य दुई जनाले १० हजार, १५ हजार रामजीका नाममा पठाएका थिए। जुन कागज रामजी आफैंले फेला पारेपछि यो सबै खुलेको थियो।

यता अर्का अभिनेता पल शाहको नामबाट पनि ठगी भएको भेटिएको थियो। २०७४ असोजमा पलको नक्कली फेसबुक बनाई ठगीको आरोपमा एक जना पक्राउ परेका थिए।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कलाकार पल शाह रहेको बताउँदै ठगी कार्यमा संलग्न रहेकोमा प्रहरीले विराटनगरका अमोद भट्टराईलाई पक्राउ गरेको थियो।

ती व्यक्तिले फेसबुकमा फ्रेन्ड रिक्वाइस्ट पठाई साथी पश्चात् कहिले बाढीपीडित राहत कोष सञ्चालन त कहिले आमा बिरामी भएको बहाना बनाएर रकम उठाउने गरेको पाइएको थियो।

यस्तै अर्का हास्य सिरियल ‘हल्का रमाइलो’ का निर्देशक तथा कलाकार राजु पौडेलले पनि सामाजिक सञ्जालबाट दुःख भोगे। आफ्नै नामको नक्कली आईडीबाट उनी पीडित भएका थिए।

२०७७ सालमा राजु पौडेल नाम गरेको नक्कली फेसबुक आईडीको मेसेन्जरबाट अर्जुन भन्नेसँग रकम मागिएको थियो।नक्कली म्यासेन्जर आईडीबाट अर्जुन भन्नेसँग कुमारी बैंकको खातामा पैसा हाल्न भनिएको थियो। उक्त बैंकमा पैसा हाल्न नाम जितेन्द्र सिग्देल र बैंकको खाता दिइएको थियो। तर पछि राजुले थाहा पाएपछि निकटस्थहरूलाई सचेत गराएका थिए।

हास्य कलाकार जितु नेपाल पनि आफ्नै नामको नक्कली आईडीका कारण हैरानीमा परेका थिए। पछि उनले सामाजिक सञ्जालमा आफ्नो नाम नै परिवर्तन गर्न बाध्य भए। उनले जितु नेपालको छोटो नामबाट आफ्नो नाममा जीत बहादुर नेपाल बनाएका छन्।

आफ्नै बोलीले गाली खान्छन् कतिपय कलाकार

आफ्नै मुर्ख्याइँले गाली खाने नेपाली कलाकार पनि धेरै छन्। यस्तोमा सबैभन्दा अग्रस्थानमा आउँछन् दीपकराज गिरी। त्यसपछि प्रियंका कार्की, पूजा शर्मा, सुष्मा कार्कीलगायत।

समसामयिक विषयमाथि टिप्पणी गरिरहने कलाकारमध्ये पर्छन् गिरी। राजनीति, समाज, अपराधजस्ता धेरै विषयमा केही भइहाले फेसबुकमा लेखिहाल्छन् उनी। आफूलाई चित्त नबुझेको कुरा सामाजिक सञ्जालमा त हाल्छन्, तर कहिलेकाहीँ नमज्जाले गाली खान्छन्।

एक साताअघि फिल्म ‘आदिपुरुष’ बारे उनले दिएको अभिव्यक्तिले केही दिन फिल्मी क्षेत्र तरंगित बनेको थियो। उक्त फिल्म बन्द गरे पनि अरू हिन्दी फिल्म बन्द गर्नुहुन्न भन्ने आशयसहित उनले सामाजिक सञ्जालमा लेखेका थिए। तर उनले भक्कू गाली खाए।

उनलाई गाली मात्र होइन, सामाजिक सञ्जालमा श्रद्धाञ्जलीसमेत दिइएको थियो। तर, उनले यसलाई सामान्य रूपमा लिए। यो मात्र हैन, यसअघि उनले सामाजिक सञ्जालमा राखेका प्रायः पोस्टमा अत्यधिक कमेन्ट आउने गर्छ। धेरैजसो उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले गाली नै बर्साउने गरेका छन्।

अर्की अभिनेत्री प्रियंका कार्की पनि गाली खाइरहने कलाकार हुन्। उनले लेखेका र पोस्ट गरेका फोटोमा अधिकांशले गाली गरिरहेका हुन्छन्। तर, उनले यस कुरालाई मतलब गर्दिनन्।

पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘मेरो डान्स युनिभर्स’, हिमालय रोडिज’ र त्यस्तै अर्को जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’मा आबद्ध उनी जज गर्न नसकेको भन्दै आलोचित भइरहेकी छन्। तर, यसमा उनले आलोचनालाई स्वीकार गर्दै अगाडि बढिरहेकी छन्।

आफूलाई कन्ट्रोभर्सीमा राखिरहन रुचाउने पूजा शर्मा पनि गाली खाइरहने कलाकारमा पर्छिन्। अघिल्लो वर्ष फिल्म ‘म यस्तो गीत गाउँछु २’का समयमा उनले गाली र ताली बराबर खाइन्।

आफ्नो फिल्म प्रमोसनका समयमा अभिनेता हिरो पल शाह नाबालिका बलात्कार आरोपमा प्रहरी हिरासतमा थिए। तर उनले उक्त घटनामा पलको बचाउ गरेकी थिइन्। पल छुटाउन काठमाडौंबाट उनी तनहुँ जिल्ला कारागारसम्म पुगेकी थिइन्। त्यो समयमा पूजालाई गाली र ताली दिनको ओइरो लागेको थियो।

‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगरले पनि सामाजिक सञ्जालमै भरमार गाली खाइन्। फिल्म हेर्न हलमा आएका भिक्षुलाई हातपात गरेपछि उनलाई सामाजिक सञ्जालमै श्रद्धाञ्जली दिनेको ओइरो नै लागेको थियो।

उनको उक्त क्रियाकलाप विरुद्ध फिल्म हलमा आन्दोलन नै भएको थियो। पछि भिक्षुले माफी मागेपछि मात्र यो घटना साम्य भएको थियो।

 

प्रतिकृया दिनुहोस्