काठमाडौं- काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले महानगरभित्र रहेका रेष्टुरेण्टमा रहेका शौचालयलाई सर्वसाधारणले सहज र निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गर्ने प्रस्ताव गरेका छन्।
नगर कार्यपालिकाको जारी पहिलो बैठकमा शाहले रेष्टुरेण्टका शौचालयलाई सार्वजनिक बनाउने र सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव गरेका हुन्। उनले केही रेष्टुरेण्ट व्यवसायीहरुसँग यसबारेमा अनौपचारिक छलफलका क्रममा आफूले सकारात्मक प्रतिक्रिया पाएको पनि बताए।
महानगरको प्रस्तावमा सहमत रेष्टुरेण्टहरूमा शौचलय प्रयोग गर्न सकिने संकेत बोर्ड राखिनेछ। रेष्टुरेण्टमा अन्य सेवा नलिएको सर्वसाधारणले पनि शौचालय प्रयोग गर्न पाउने गरी व्यवस्था हुने शाहको भनाइ छ। उनले महानगरले सार्वजनिक स्थलमा शौचालय निर्माणको क्रमलाई पनि निरन्तरता दिने बताए।
यस्तै शाहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ वटा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका छन्। नागरिकको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याउने समते उनले बताए। उनले भने, ‘जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि तत्काल रेस्पोन्स गर्नुपर्छ।’
मेयर शाहले काठमाडौंको फोहोर व्यवस्थापनलाई मुख्य एजेण्डा बनाउँदै फोहोर मैला व्यवस्थापन नभएसम्म आफूले माला खादा नलगाउने घोषणासमेत गरे। महानगरका नवनिर्वाचित जनप्रतिनिधिहरूले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए।