काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चीनले अगाडि बढाएको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सघाउने बताएका छन् । दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा राष्ट्रपति सी जीनपिङले गरिसकिएको उल्लेख गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बताएका हुन् ।
काठमाडौंको वन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले बालबालिकाहरू खुसी भए मात्रै स्वस्थ रहन सक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि बालबालिका स्वस्थ र खुसी हुन जरुरी रहेको बताए । उनले आजका बालबालिका नै भविष्यका नेपाल र चीनका मित्रताका परिपूरक भएको उल्लेख गरे ।
प्रमुख लिउले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र चीन दुई मुलुकबीचको सामाजिक संगठनमा धेरै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले नेपाली बालबालिकाहरूलाई चीनमा भ्रमणका लागि जान पनि आग्रह गरे । प्रमुख लिउले चीनमा आएका नेपाली बालबालिकालाई स्वागत गर्न पाए आफू झनै खुसी अनुभव गर्ने र चिनियाँ बालबालिकाहरूसँग भेटघाट गराउने प्रतिबद्धतासमेत व्यक्त गरे ।