काठमाडौं - आज देशभर दिवङ्गत आफन्तको सम्झनामा परम्परागत सांस्कृतिक पर्व 'गाईजात्रा' विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन चल्ने यो पर्व विशेषगरी काठमाडौं उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका सहरहरूमा धुमधामका साथ मनाइन्छ।
एक वर्षभित्र मृत्यु भएका आफन्तको आत्माको शान्तिको कामना गर्दै आजको दिन गाई वा गाईको भेषमा मानिसलाई सिँगारी नगर परिक्रमा गराउने चलन छ। परिक्रमामा सहभागी हुनेहरूलाई श्रद्धालुले दूध, फलफूल, रोटी, दही, चिउराका साथै अन्न र द्रव्य दान गर्छन्। यसो गर्दा मृतकले गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्छन् भन्ने बलियो धार्मिक विश्वास छ।
शोकलाई शक्तिमा बदल्ने पर्व
यो पर्वको सुरुवात राजा प्रताप मल्लले पुत्रशोकमा डुबेकी आफ्नी रानीलाई सान्त्वना दिन गरेको ऐतिहासिक तथ्य भेटिन्छ। रानीलाई 'संसारमा अरूले पनि यस्तै शोक बेहोर्नुपर्छ' भन्ने देखाउन उनले जनतालाई दिवङ्गत आफन्तका नाममा गाईजात्रा निकाल्न लगाएका थिए। तर, त्यसले पनि रानीको मन शान्त नभएपछि उनले विभिन्न हास्यव्यङ्ग्यात्मक कार्यक्रम गर्न आदेश दिए, जसबाट यो पर्वमा व्यङ्ग्यको परम्परा बसेको मानिन्छ। त्यही प्रथाअनुसार आज पनि गाईजात्रा हनुमानढोका दरबार अगाडिबाट परिक्रमा गराउने चलन कायमै छ।
व्यङ्ग्य र सामाजिक चेतनाको माध्यम
गाईजात्रा केवल शोक प्रकट गर्ने पर्व मात्र नभई, सामाजिक र राजनीतिक विकृतिविरुद्ध व्यङ्ग्य गर्ने एक सशक्त माध्यम पनि हो। पञ्चायती व्यवस्थामाथि व्यङ्ग्य गर्न थालिएपछि २०१७ सालमा यसमाथि प्रतिबन्ध लगाइएको थियो, तर २०३३ सालदेखि प्रज्ञा प्रतिष्ठानले यसलाई पुनः महोत्सवका रूपमा सुरु गर्यो।
आजभोलि गाईजात्राको अवसरमा समाजमा व्याप्त विसंगति र विकृतिलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिन्छ। पत्रपत्रिकाहरूले हास्यव्यङ्ग्य विशेषांक निकाल्छन् भने हाँस्य कलाकारहरूले विशेष मञ्चन कार्यक्रमहरू आयोजना गर्छन्।
काठमाडौं उपत्यकाबाहेक बनेपा, धुलिखेल, पनौती, पोखरा, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा जस्ता सहरहरूमा पनि यो पर्व उल्लासका साथ मनाइन्छ। यस अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।