काठमाडौं - नेपाली पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको बलात्कार मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्या प्रयास गरेकी छन्।
माइती नेपालको संरक्षणमा रहेकी उनले प्रेस्क्राइब गरिएको औषधि धेरै खाएर आत्महत्या प्रयास गरेकी हुन्। उनी अहिले मनोचिकित्सकको परामर्शमा समेत थिइन्। उपचारको क्रममा चिकित्सकले उनलाई औषधि प्रेस्क्राइब गरेका थिए।
उनको अहिले काठमाडौँको एक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले उनलाई भर्ना गरेर उपचार गरिरहेको छ। अहिले उनी खतरामुक्त रहेको अस्पताल स्रोतले उकेरालाई जानकारी दियो।
जिल्ला अदालतमा मुद्दाको फैसला हुने पेशी तोकिएको एक दिनअघि गौशाला २६ ले आत्महत्याको प्रयास गरेकी हुन्। क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ।