काठमाडौं - किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन्। यो वर्षको पहिलो वसन्तयाम हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर्णिमा श्रेष्ठलगायत छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको पथप्रदर्शक पेम्बा शेर्पाले बेनीमा आयोजित स्वागत कार्यक्रममा जानकारी दिए।
पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, शर्मिला सेङताङ र डावुटी शेर्पासहित छ महिलाले एकैदिन सफल आरोहण गरेका थिए। यसअघि अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीले सफल आरोहण गर्न सकेका थिएनन्।
अन्नपूर्ण बेसक्यामबाट छ दिनको यात्रासँगै अगस्त १६ तारिख (२०७८ वैशाख ३ गते) चुचरोमा टोली पुगेको थियो। अगस्त १६ तारिखमा छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्णको सफल आरोहण भएको शेर्पाले बताए। सेभेन समिट ट्रेकबाट आरोहणका लागि गएको १७ जनाको टोलीमा १५ जनाले सफल आरोहण गरेको जनाइएको छ। श्रेष्ठसहितको टोलीले वैशाख ३ गते शुक्रबार बिहान १:१५ बजे अन्नपूर्णको चुचुरोमा पुगेका शेर्पाले जानकारी दिए।
श्रेष्ठका अनुसार बेसक्यापदेखि छ दिनको यात्रामा अन्नपूर्ण हिमालको चुचुरोमा पुग्दा धेरै खतरा र जोखिम टोलीले मोलेको थियो। खाना, अक्सिजन, डोरीलगायतका सामग्री हेलिकोप्टरबाट मगाएर सफल आरोहण गर्न टोली सफल भएको शेर्पाले बताए। सुन्दर ठाउँमा अवस्थित अन्नपूर्र्ण हिमालको बेसक्यापसम्म सरकारलगायतको लगानीमा होटल, सार्वजनिक ठाटी, टहरा, बनाउन शेर्पाले आग्रह गरेका छन्। फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुइ म्याकेननले ७० वर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो मानव पाइला टेकेका थिए। उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् विसं २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए।